हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित — OSNepal

हिमालयन एयरलाइन्सको सेल्फग्राउन्ड ह्यान्डेलिङ अनुमति स्थगित

LC (KTM) December 22, 2022 0

काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलाइन्सले पाएको भूमिस्थप्रबन्ध (सेल्फ ग्राउन्डह्यान्डेलिङ) को अनुमति स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको पुस ४ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि अनुमतिपत्र नवीकरण स्थगन गर्ने निर्णय गरेको हो ।

एयरलाइन्सले २०७७ साल असोजमा आफ्नो उडानको ग्राउन्डह्यान्डेलिङ सेवा आफैँ सञ्चालन गर्ने गरी यस्तो अनुमति पाएको थियो । अनुमति पाएको एक वर्षभित्र एयरलाइन्सले ग्राउन्ड इक्युप्मेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्ने भए पनि सो सर्त पूरा नगरेकाले अनुमतिपत्र स्थगित गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्डह्यान्डेलिङको सेवा दिइरहेको छ । हिमालयन एयरलाइन्सले सेल्फग्राउन्डह्यान्डेलिङको अनुमति पाउँदा राष्ट्रिय ध्वजावाहक निगमको आम्दानी गुमेर थप आर्थिक भार पर्ने अवस्था थियो । सोही अवस्थालाई समेत दृष्टिगत गर्दै प्राधिकरणले यस्तो निर्णय लिएको उहाँको भनाइ छ ।

यद्यपि प्राधिकरणले एयरलाइन्सलाई पठाएको पत्रमा भने हाल ग्राउन्डह्यान्डेलिङ प्रयोजनका लागि इक्विप्मेन्ट यन्त्र उपकरण व्यवस्थापनका लागि स्थान उपलब्ध गराउने अवस्था नभएको भन्दै अनुमतिपत्र स्थगन गर्नुपरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर