निरन्तर परेको वर्षाका कारण विद्युत पोलमा क्षति ,आठ हजार घरधुरीमा विद्युत अवरुद्ध — OSNepal

निरन्तर परेको वर्षाका कारण विद्युत पोलमा क्षति ,आठ हजार घरधुरीमा विद्युत अवरुद्ध

LC (KTM) July 03, 2021 0

दमौली, १९ असार- केही दिनदेखि परेको निरन्तर वर्षाका कारण विद्युत पोलमा क्षति पुग्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ । लगातारको वर्षाले पोल क्षति हुँदा जिल्लाका करिब आठ हजार घरधुरीमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । हालसम्म प व्यास र भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २८ विजुलीको पोल पहिरोले क्षति पुगेको छ । व्यास –१० बोटेगाउँमा एक, व्यास–१२ देउराली, छिर्कने र जौबारीमा आठ, व्यास–१३ छाब्दीमा चार, भानु –१ साझबोटेमा पाँच, भानु –३ तुरतुरेमा तीन पोलमा क्षति पुगेको छ । त्यस्तै भानु –६ बरभञ्ज्याङमा दुई, बन्दीपुर–२ भैसेखारमा चार, भानु–१३ पोखरीछापमा एक पोलमा क्षति पुगेको छ । “पहिरोले क्षति भएको पोलहरुको मर्मत कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “पूर्ण रुपमा सञ्चालन हुन अझै तीन÷चार दिन लाग्नेछ ।”

विद्युत पोलमा क्षति पुगेर विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको बन्दीपुरका स्थानीयवासी बसन्त पौडेलले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले विद्युत अवरुद्ध हुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर