प्रतिबन्धित ३० किलो वन लसुनसहित माइला र जितबहादुर समातिए — OSNepal

प्रतिबन्धित ३० किलो वन लसुनसहित माइला र जितबहादुर समातिए

LC (KTM) July 04, 2021 0

मनाङ – प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिनुभयो । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उहाँले बताउनुभयो । बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ ।

उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर