दाङका धार्मिकस्थलमा माघी मेलाको तयारी — OSNepal

दाङका धार्मिकस्थलमा माघी मेलाको तयारी

LC (KTM) December 26, 2022 0

दाङ-माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका –१३ को बाह«कुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ । यस वर्ष यी दुवै स्थानमा माघी मेला लाग्ने भएको हो । लमही–९ रिहारस्थित धार्मिक एवं पर्यटकीयस्थल बगारबाबा धार्मिक पर्यटन क्षेत्रमा माघीको अवसरमा मेला लाग्ने भएको छ । बगारबाबा धार्मिक पर्यटन विकास समितिले धार्मिक क्षेत्र सरसफाइ गरेको छ । मन्दिरमा भक्तजनको घुइँचो लाग्ने हुँदा सरसफाइ गरिएको बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारले जनाएको छ ।

यस क्षेत्रमा विशेष गरेर भारतीय पर्यटक आउने गर्दछन् । बगारबाबा धार्मिक पर्यटन विकास समिति रिहारका अध्यक्ष रवीन्द्र खत्रीले माघीको समयमा मेला लाग्ने भएकाले मन्दिर परिसर सरसफाइ गरिएको बताउनुभयो । उहाँले अब प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाइ कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

स्थानीय पर्यटन क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण गर्न प्रत्येक वर्ष माघको १ गते मेला लाग्दै आएकामा यसवर्ष पनि निरन्तरता दिइने बताउनुभयो । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ ।

थारु समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भाञ्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानि पूजा गर्ने चलन रहेको पूजारी हीरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर रहेका छन् ।

यसैगरी घोराही–१३ सेवारमा रहेको बाह्रकुने दहमा माघी मेला नजिकिएसँगै चहलपहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तीव्रता दिँदै आएको छ । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले माघी पर्वको अवसरमा लाग्ने मेलाको तयारी गरिरहेको बताउनुभयो ।

त्यसका लागि विभिन्न उपसमिति बनाएर कामको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । अचेल मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुई सय भक्तजन आउने गरेको बुढाले बताउनुभयो । यहाँ भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर