हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने — OSNepal

हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने

LC (KTM) July 04, 2021 0

गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने भएको छ । त्यसका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई फ्याकल्टी अनुसन्धान अनुदान प्राप्त भएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले आर्थिक वर्ष २०७७÷०७८ को लागि उक्त फ्याकल्टी अनुसन्धान अनुदान दिएको हो । कलेजका डाक्टर नारायणप्रसाद कोजूलाई चार लाख बराबर राशीको अनुदान रकम आयोगले दिएको हो । दुई वर्षअघि गौरिशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा पत्ता लगाउन सोध गरेका डा. कोजूलाई पुनः सोही क्षेत्रमा हिउँ चितुवाको आहार सम्बन्धी खोज अनुसन्धान गर्न आयोगले अनुदान दिएको हो ।

नेकमार्फत डा. कोजूले दुईवर्ष गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको आहार सम्बन्धी अनुसन्धान गर्नेछन् । ‘अब गौरिशंकर संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको खाना अर्थात् उसले शिकार गर्ने जनावरको विविधता, त्यसको उपलब्धताका विषयमा दुईवर्ष काम गर्नेछु’ डा. कोजूले भने । डा. कोजूले सो क्षेत्रमा रहेका हिउँ चितुवाले कत्तिको आहार पाएका छन् ? त्यसको पनि अनुसन्धान गर्नेछन् । डा. कोजूको टिममा नेकका दुई जना मास्टर्सका विद्यार्थीहरुसमेत सहभागी हुनेछन् ।डा. कोजुकै टिमले डेढ वर्षअघि गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा रहेको पत्ता लगाएकोे थियो । ‘हामीले डेढ वर्षअघि त्यो ठाउामा हिउँ चितुवा छ भन्ने पत्ता लगाएका थियौं, र यो पल्ट सोही ठाउँमा रहेका हिउँ चितुवाले खाने प्रजाति कुन–कुन रहेका छन् ? कुन–कुन सिजनमा कुन–कुन प्रजाति कति मात्रामा पाइन्छ ? भन्ने सोध अनुसन्धान गर्नेछौं’ उनले भने ।

प्रारम्भिक अनुमान अनुसार विश्वमा हिमचिुतवाको संख्या सात हजारको हाराहारीमा छ । नेपालमा तीन सयदेखि पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको शाख बढाउन यस्ता सोध र अनुसन्धानहरु आवश्यक रहेको बताए । फ्याकल्टी अनुसन्धान अनुदानले कलेजलाई आर्थिक भन्दा पनि शैक्षिक फाइदा हुने उनले बताए । कलेजले यसअघि पनि विभिन्न विषयहरुमा सोध अनुसन्धान गर्ने गरेको छ ।

सामाजिक शैक्षिक संस्थाका रुपमा रहेको नेकले विद्यार्थी, शिक्षकहरुको एकेडेमिक गुणस्तर कायम गर्न विभिन्न शैक्षिक निकाय र आयोगसँग सहकार्य गर्ने गर्दै आएको छ । विश्वविद्यालय अनुदान आयोगले विभिन्न कलेजहरुलाई फ्याकल्टी अनुसन्धान अनुदान उपलब्ध गराउने गर्दछ । कुनै पनि कलेजहरुले गरेका सोध अनुसन्धानले त्यस कलेजको प्राज्ञिक क्षमता देखाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर