जाडोमा पौष्टिक खाजाका रुपमा चामलको पिठोको भक्का — OSNepal

जाडोमा पौष्टिक खाजाका रुपमा चामलको पिठोको भक्का

LC (KTM) January 11, 2023 0

सुनसरी, २७ पुससुनसरीको इटहरी चोकमा बुधबार बिहान भक्का बेच्न बसेका व्यापारी । चामलको पिठोबाट बन्ने भक्का जाडोमा पौष्टिक खाजाका रुपमा लिइन्छ ।

यो पनि : शीतलहरले जनजीवन कष्टकर बन्दै:शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् ।

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्ग्रिने गरेको मधुवन नगरपालिका–१ बड्की टडुवाका स्थानीयवासी कुशव थापाले बताउनुभयो । “केही दिनदेखि घामको मुख देख्न पाइएको छैन । केटाकेटी, वृद्धवृद्धा र पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्”, उहाँले भन्नुभयो । जाडोले गर्दा दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ ।

चिसो बढेपछि सामुदायिक विद्यालय पनि बिदा भएको त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका–१ सूर्यपटुवाका प्राध्यापक इन्द्रबहादुर सुनारले बताउनुभयो । चिसोले नगरभित्र रहेका सामुदायिक विद्यालयमा एक हप्ता जाडो बिदा दिएको मधुवनका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बताउनुभयो । बर्दियाका आठवटै पालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छैनन् । केही विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने तयारी भइरहेको छ ।

शीतलहर तथा तुषारोका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ । शीतलहरका कारण आलु, टमाटर, तोरीलगायतका अन्नबाली तरकारीका बिरुवामा क्षति पुगेको छ । घाम नलागेपछि पशुचौपायासमेतले सास्ती खेप्न बाध्य छन् । अत्यधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न, अतिविपन्न परिवारलाई न्यानो कपडाको बन्दोवस्त गर्न सङ्घसंस्थालाई आह्वान गरेको छ । जाडोका कारण बर्दिया अस्पतालमा आउने बिरामीको सङ्ख्यासमेत बढदो छ ।

चिसो बढेपछि बर्दियाका विभिन्न स्वास्थ्यचौकीमा दम, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासका बिरामीको चाप बढेको सूर्यपटुवा स्वास्थ्यचौकी प्रमुख पूर्णबहादुर खत्रीले बताउनुभयो । यतिखेर चिसो अत्यधिक बढेकाले सावधानी अपनाउनु पनि उत्तिकै आवश्यक छ । चिसोमा तातो झोलिलो पदार्थ पिउनुपर्ने, न्यानोमा बस्ने, आगो ताप्ने गर्न सुझाव दिनुभयो । मौसम रापिलो नहुँदासम्म स्वास्थ्यसँग खेलवाड गर्न नहुने खत्रीको भनाइ छ । जाडोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती, सुत्केरी महिलाले सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर