मोटोपनाले गर्दा बसको ढोकाबाट उक्लन र झर्न गाह्रो भएपछि बस नै चढ्न छाडिदिइन् यी युवतीले — OSNepal

मोटोपनाले गर्दा बसको ढोकाबाट उक्लन र झर्न गाह्रो भएपछि बस नै चढ्न छाडिदिइन् यी युवतीले

LC (KTM) January 13, 2023 0

रायान सुजा ब्रजिलको इस्पीरीतो सान्तो राज्यको राजधानी भीतोर्या टापुमा हुर्किएकी हुन्। उनका अभिभावकको सहरको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिने इल्हा दु बोइमा घर छ।समुद्री तटमा ‍’गोर्दोफोबिया’बारे कुरा गर्न हामीबीच भेट भएको छ।

पोर्चुगलको भाषामा उक्त शब्द मोटा मानिसहरूलाई गरिने विभेद दर्साउने अभिव्यक्ति हो जसलाई अनुवाद गर्दा मोटामोटी रूपमा ”फ्याटफोबिया” भन्न सकिन्छ।

‘फ्याटफोबियाबारे’ सचेतना बढाउँदै

उनी गोर्दाना लेइ [”फ्याट इन द ल”] की संस्थापकमध्ये एक हुन्। उक्त समूहले यो विषयवस्तुबारे सचेतना बढाउनुका साथै कानुनी रूपमा क्षतिपूर्ति चाहने पीडितहरूलाई वकिलसँग जोडेर सहयोग गर्छ।

ब्रजिल ”ट्यान्ड, बीच रेडी बडी” अर्थात् घामका कारण भएको तुलनात्मक रूपमा कालो छाला अनि तटीय क्षेत्रमा मजा लिन तयार सहरका रूपमा परिचित हुनसक्छ।

तर यहाँ अधिकारवादीहरूले सबै खाले शरीर भएका मानिसलाई समेट्न सकियोस् भन्ने हेतुका साथ कानुन प्रस्ताव अनि पारित गराउन लागि परेका छन्।

खासगरी कार्यस्थलमा हुने विभेदबारे मुद्दा वकिलहरूले अदालतसम्म पुर्‍याएका छन् भने महिलाहरूले प्लस-साइज (अधिक तौल भएका) प्रतियोगिताहरू आयोजना गरिरहेका छन्।

समुद्रतर्फ फर्किएको पार्कको एउटा बेन्चमा रायानले बीबीसीसँग कुराकानी गर्दै गर्दा उनका प्रेमीले तस्बिरहरू खिचिरहेका छन्।

ती सबै इन्स्टाग्राममा पोस्ट हुनेछन् जहाँ इन्फल्युएन्सरको छवि बनाएकी उनले १८,००० भन्दा बढी फलोअरसमक्ष आफ्नो दैनिकीबारे जानकारी गराउने गर्छिन्।

३२ वर्षकी उनमा निकै परिवर्तन आएको छ। उनले ११ वर्षको उमेरसम्म समुद्रको तटमा पाइला टेकेकी थिइनन्।

”किशोर अवस्थामा छँदा म साथीहरूसँग समुद्री तटमा नजान भएभरका सबै खाले बहाना बनाउँथे। महिनावारी भएको, बिरामी भएको बहाना म बनाउँथे … र जब मेरा बहानाले काम गर्दैन थियो तब कालो लेगिङ सुरुवाल र खुकुलो सर्ट लगाएर बालुवामा बस्ने मात्रै एक जना व्यक्ति म हुन्थे।”

”म सधैँ मोटी नै थिएँ। बाल्यकालदेखि किशोरावस्थासम्म म मोटै थिएँ। आफ्नो तौलबारे गरिने टिप्पणी सुन्ने मलाई बानी परिसकेको थियो।”

तर विश्वविद्यालय पुगेपछि त्यस विषयमा केही परिवर्तन भएको उनी बताउँछिन्।

पीडादायी अनुभव

सन् २०१२मा रायानसँगै पढ्ने सहपाठीको एक समूहले उनको शारीरिक अवस्थाबारे टिप्पणी गर्न ह्वाट्स एपमा एउटा ग्रुप बनायो।

उनीहरूले रायानको सामाजिक सञ्जालबाट फोटो लिएर ग्रुपमा पोस्ट गर्थे र अप्रिय टिप्पणी गर्थे। पछि उक्त समूहमा रहेका एक जना विद्यार्थीले ग्लानि महसुस गरे र त्यहाँ भइरहेको गतिविधिबारे रायानलाई जानकारी गराए।

त्यो उनका लागि निकै पिडादायी अनुभव रह्यो र त्यसले उनको सोचाइमा परिवर्तन ल्यायो।

उनले ७०को दशकमा अमेरिकामा सुरु भएको ‘बडी पोजेटिभ मुभमेन्ट’ बारे थाहा पाइन् जुन ”आफैले आफ्नो हेरचाह, आफैसँग प्रेम अनि आफैले आफूलाई स्वीकार गर्ने” विषयवस्तुमा केन्द्रित थियो।

सन् २०१९मा उनले मानव अधिकारसँग सम्बन्धित विषयवस्तुलाई केन्द्रमा राखेर वकालत गर्ने साथी मारीअना ओलीभेरलाई एउटा अभियान सञ्चालन गर्ने प्रस्ताव राखिन्।

क्षतिपूर्तिको माग गर्दै वा केवल आफ्नो कथा सुनाउनका लागि उनीहरूले महिनामा झन्डै ७० वटा सन्देश प्राप्त गर्न थाले।

आधिकारिक तथ्याङ्कका अनुसार ब्रजिलको श्रम अदालतमा ‘फ्याटफोबिया’ उल्लेख भएका १,४०० भन्दा बढी मुद्दा दायर भएका छन्।

कार्यस्थलमा भेदभाव

ब्रजिलमा ‘फ्याटफोबिया’लाई अपराध मानिँदैन। तर त्यहाँ अभियोग लगाउने बाटो भने खुला छ।कुनै व्यक्तिलाई मानहानि, वा नैतिक उत्पीडनका लागि अदालत लैजान सकिने मारीअना बताउँछिन्।उनले एउटा घटना उल्लेख गरिन् जसमा एक जना व्यवसायीले तौल घटाएपछि मात्रै आफ्ना एक कर्मचारीलाई भत्ता दिने सर्त राखेका थिए।

‘’उनले ती कर्मचारीलाई तौल लिने उपकरणमा समेत नाप्न लगाएका थिए,’’ उनले भनिन्।न्यायाधीशले उक्त मुद्दाको फैसला गर्दै ती व्यवसायीलाई १,८०० अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएका थिए जुन ‘फ्याटफोबिया’ सम्बन्धी मुद्दामा क्षतिपूर्ति स्वरूप दिन भनिएको सबैभन्दा ठूलो मध्ये एक हो। ती व्यवसायीले भने आफ्नो बचाउमा ‘’आफूले ती कर्मचारीलाई छोरीको नजरले हेरेको र उनकै लागि राम्रो चिताएको’’ बताएका थिए। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर