कैलालीको गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला लाग्ने — OSNepal

कैलालीको गोदावरीधाममा बाह्रराशि दर्शन मकरमेला लाग्ने

LC (KTM) January 13, 2023 0

कैलाली-कैलालीको गोदावरीधाममा यस वर्ष पनि बाह्रराशि दर्शन मकरमेला लाग्ने भएको छ । यही पुस ३० गतेदेखि आगामी माघ १२ गतेसम्म मकरमेला लाग्ने गोदावरीधाम विकास समितिले जनाएको छ । मेलाका अवसरमा बाह्रराशि नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरु प्रारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजकले जनाएको छ ।

गोदावरीमा नेपालका मात्र नभएर भारतका विभिन्न सहर तथा ग्रामीण क्षेत्रहरुबाट समेत यहाँ भक्तजन आउने गरेका छन् । गोदावरीमा धार्मिकस्थल मात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न गतिविधिहरु भइरहन्छन् । माघीमा विवाह, व्रतबन्धलगायत शुभ कामका लागि झन् बढी घुइँचो लाग्ने गरेको छ । गोदावरीबाट अत्तरिया बजार ६ किलोमिटर टाढा रहेको छ । त्यहाँ विभिन्न सुविधायुक्त गेष्ट हाउस, होटलको समेत व्यवस्था रहेको छ । धार्मिक महिना माघमा दर्शनार्थीहरुलाई होटल व्यवस्थापनका लागि निकै नै समस्या हुने गरेको छ । गोदावरीको टाकुराबाट धनगढी, अत्तरियालगायत तराईका दृश्यहरु मनोरम ढङ्गले दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँबाट गोदावरीमा रहेका हनुमानको ठूलो मूर्ति, गौतम बुद्ध सुतेको मूर्ति, गणेश भगवान्को मूर्ति र शिवलक्ष्मी भगवान्का मूर्तिको अवलोकन तथा दर्शन र रमणीय ताल अवलोकन गर्न सकिन्छ ।

गोदावरी क्षेत्रमा बिदामा परिवार र साथीभाइसहित पुग्नेहरु पनि उत्तिकै हुन्छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट गोदावरीको सडक निर्माण भएसँग पर्यटकलाई गोदावरी जान निकै नै सहज भएको छ । सुदूरपश्चिम प्रदेशको ठूलो धनगढी विमानस्थल पनि गोदावरीबाट १२ किलोमिटरको दूरीमा पर्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु गोदावरी जानका लागि इच्छुक हुने गर्छन् । विमानस्थलबाट गोदावरीका लागि सबैखाले साना तथा ठूला सवारीसाधन सहजै पाउन सकिन्छ । गोदावरी सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत घोषणा गरेको हुँदा यसको गरिमा अझ बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर