मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका मन्दिरमा दर्शनार्थीको घुइँचो — OSNepal

मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका मन्दिरमा दर्शनार्थीको घुइँचो

LC (KTM) January 15, 2023 0

मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका विभिन्न ठाउँमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन जिल्लाको तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

यी मन्दिरमा नारायणको मूर्तिमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रूपमा तिलमाधव तथा वाकुपति नारायण देवताको नाइटोमाथिको घिउ, चाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउ, चाकु खाए छोरी लाभ हुने जनविश्वास यद्यपि रहेको स्थानीयवासी बताउँछन् ।

नेवारी भाषामा घिउ, चाकु सल्हुँ भनिने आजको दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

आज नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउ, चाकु तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूलपुजारी उत्तमाङ्गराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाइ पूजा गरेर माघे सङ्क्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर