हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै लिन पाइने — OSNepal

हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै लिन पाइने

LC (KTM) January 18, 2023 0

खोटाङ-हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले आठ दिने तालिम दिएको हो ।

हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आआफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभयो ।

“हलेसी, ताराखसे, तुवाचुङ–जयाजुमलगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “जसका कारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञलाई झिकाएर पर्यटक गाइड तालिम दिइएको छ । आगामी दिनमा आधिकारिक गाइडबाट मात्रै हलेसीको वर्णन गरिनेछ ।”

प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध हलेसीको हिन्दु, बौद्ध र किराँत तीन वटै धर्मालम्बीको आआफ्नै इतिहास रहेको जानकारहरु बताउँछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले गत पुस २७ गतेदेखि माघ ४ गतेसम्म आठदिने पर्यटक गाइड तालिमको आयोजना गरेको हो ।

‘नेपाल एकेडेमी अफ टुरिज्जम एण्ड होटेल म्यानेज्मेन्ट’ (एनएटिएच)सँगको सहकार्यमा नगरपालिकाले दिएको तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डङ्गोल, सहप्राध्यापक तथा संस्कृतिविद् डा लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गर्नुभएको थियो । गाइडसम्बन्धी तालिमका लागि नगरपालिकाले गत मङ्सिर–८ गते सूचना प्रकाशित गरेको थियो ।

नगरपालिकाले निकालेको सूचनाका आधारमा ३३ जनाको आवेदन परेकामा दुई जनाको प्रक्रिया नपुगेपछि २५ जनालाई तालिममा सहभागी गराइएको वडा नं ७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ तालिममा सात महिला र १८ पुरुषगरी २५ जना सहभागी भएका थिए ।

तालिममा सहभागी युवालाई सूचीकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ । उनीहरुको पारिश्रमिकका विषयमा नगर कार्यपालिकाको बैठक बसेर निर्णय गरिने वडाध्यक्ष एवं नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

धार्मिक तथा साँस्कृतिकरुपले विश्व प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, बङ्गलादेश, भूटान तथा अमेरिका, दक्षिण कोरियालगायत विभिन्न देशबाट पर्यटक एवं भक्तजन आउने गरेका छन् ।

हलेसीमा हिन्दू, बौद्ध र किराँत धर्म मान्ने आआफ्नै तरिकाले पूजापाठ गर्दै आएका छन् । हिन्दू धर्ममा आस्था राख्नेले यसलाई पशुपतिनाथ, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्बीले आदिम भूमि मान्ने गरेका छन् ।

दैनिक सयौँको सङ्ख्यामा पर्यटक र भक्तजनको भीड लाग्ने हलेसीमा चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीको मेला भर्न तथा पूजाआजा गर्न आउने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर