लमजुङका १७ वर्षीय अविनाशले आफै स्कुटर बनाएर चलाएपछि सबै परे छक्क — OSNepal

लमजुङका १७ वर्षीय अविनाशले आफै स्कुटर बनाएर चलाएपछि सबै परे छक्क

LC (KTM) January 20, 2023 0

लमजुङ, ६ माघ-मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।

मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यसपटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका हुन् । 

अविनाशले ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरेका छन्  । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए । 

‘दिउँसो त स्कुल जानुपर्‍यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।

आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एकपटक चार्ज गरेपछि तीनदेखि चार किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५–६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट दुई सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।

शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गत वर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर