अमेरिकी प्रविधिका गोप्य कुरा चीनले कसरी थाहा पाउँछ ? यस्तो रहेछ भित्री कुरा — OSNepal

अमेरिकी प्रविधिका गोप्य कुरा चीनले कसरी थाहा पाउँछ ? यस्तो रहेछ भित्री कुरा

LC (KTM) January 23, 2023 0

अमेरिकी ऊर्जा कम्पनी जेनरल एनर्जी पावरका एक जना पूर्व कर्मचारी जङ साओचिनलाई गत महिना अमेरिकामा दुई वर्षका लागि जेल सजाय भयो। अमेरिकी नागरिक जङ पक्राउ पर्नुपछाडिको कारणमा उनले आफ्ना रोजगारदाताबाट गोप्य व्यावसायिक सूचना चोरी गरेको भन्ने आरोप थियो।

अमेरिकी कानुन मन्त्रालयका अनुसार उनले उक्त ऊर्जा कम्पनीबाट चोरी गरेका गोप्य फाइलहरू गुप्त कोडको रूपमा आफ्नो इमेलमा पठाउँथे।’स्टेग्नोग्राफी’ भनिने सूचना चोरीको यो तरिकाले अर्कै विवरणहरू राखिएका फाइलमा कोडको रूपमा गोप्य तथ्याङ्क लुकाउने शैलीलाई बुझाउँछ।

जङमाथि कैयौँ पटक महत्त्वपूर्ण तथ्याङ्क चोरी गरेको आरोप थियो।जेनरल एनर्जी (जीई) स्वास्थ्य, ऊर्जा र हवाई क्षेत्रमा चिनिएको व्यावसायिक घराना हो। यसले रेफ्रीजेरेटरदेखि विमानका इन्जिनसम्म बनाउँदै आएको छ।

जङले चोरेको भनिएको सूचना ग्यास र बाफबाट चल्ने टर्बाइनको नमुना र उत्पादनबारे थियो। दशौँ लाख डलर पर्ने ठानिएको यस्तो तथ्याङ्क उनले यस्तो चोरीमा संलग्न अर्का साझेदारलाई चीन पठाउँथे।

यसले अन्ततः चीन सरकार र चिनियाँ कम्पनी तथा विश्वविद्यालयहरूलाई फाइदा पुग्थ्यो।जङ संलग्न भएको घटना अमेरिकी अधिकारीहरूले अभियोजन गरेका यस्तै प्रकृतिका धेरै घटनाहरूमध्येको एउटा मात्रै हो।

व्यापारिक गोप्य सूचनाहरूको चोरी
गत नोभेम्बरमा जासुस ठानिएका चिनियाँ नागरिक शु यान्जुनलाई जीई सहित अमेरिकी हवाई र उड्डयन कम्पनीहरूको व्यावसायिक गोप्यता चोरी गर्ने प्रयास गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइयो।

आफ्नो अर्थतन्त्र र भूराजनीतिक अवस्थितिको चुनौतीलाई बलियो बनाउन चीनले गरिरहेको सङ्घर्षको एउटा पाटो प्रविधिमा भइरहेका कामबारे सूचना लिने पनि हो। अमेरिकाले भने आफ्नो शक्तिको प्रतिस्पर्धी ठानिएको चीनलाई रोक्न सक्दो प्रयास गरिरहेको छ।

समय र पैसाको कम लगानीमा प्राप्त हुने भएकाले पनि व्यापारिक गोप्य सूचनाहरूको चोरी निकै आकर्षक हुने इकोनोमिष्ट इन्टेलिजेन्स युनिटका निक मार्रोले बीबीसीलाई बताए।गत जुलाईमा लण्डनमा व्यावसायिक घरानाका नेतृत्वकर्ता र प्राज्ञहरूसँग अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनले पश्चिमा कम्पनीहरूको बौद्धिक सम्पत्ति “लुटपाट” गर्न चाहेको बताएका थिए।

महत्त्वपूर्ण उद्योगहरूमा आफ्नो दबदबा कायम राख्न र आफ्नो औद्योगिक विकासलाई गति दिन चीनले यस्तो लक्ष लिएको उनको आरोप थियो।उनले ठूला देखि भर्खरै सुरु हुन लागेका र औषधी देखि ‘आर्टिफिसियल इन्टेलिजेन्स ‘जस्ता सबै खाले कम्पनीहरूमा उसले जासुसी गरिरहेको हुनसक्ने भन्दै व्यवसायीहरूलाई सचेत गराएका थिए।

उक्त समय चिनियाँ विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता जाउ लिजिएनले रेले चीन विरुद्ध “हिलो छ्यापेको र शीतयुद्धकालीन मानसिकता पालेको” आरोप लगाएका थिए।

‘चीन हाम्रो हैसियत गिराउन चाहन्छ’
जङबारे न्याय मन्त्रालयको वक्तव्यमा एफबीआईका एलन कोलर जुनियरले चीनले “अमेरिकी कौशल”लाई निशाना बनाएको र विश्व नेताको अमेरिकी “हैसियत गिराउन चाहेको” आरोप लगाएका थिए।

जङ ‘टर्बाइन सिलिङ’ प्रविधिमा विशेषज्ञता भएका इन्जिनियर थिए उनले धेरै वटा त्यससम्बन्धी कम्पनीमा काम गरिसकेका छन्। यसरी ‘टर्बाइनहरूलाई ‘सिल गर्ने कार्यले तिनको आयु बढाउनुका साथै काम गर्ने क्षमता पनि थप गर्छ।

विमानमा प्रयोग हुने ग्यास टर्बाइन चीनको उड्डयन उद्योगको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो।विदेशी प्रविधिमा आफ्नो निर्भरता घटाउँदै त्यसलाई अन्त्य गर्न चीनले लिएका १० वटा लक्ष्य मध्ये हवाई र अन्तरिक्षसम्बन्धी उपकरणहरू पनि हुन्।तर चिनियाँ औद्योगिक जासुसीले अन्य क्षेत्रलाई पनि निशाना बनाइरहेको छ। ‘सिलिकन भ्याली’को एउटा परामर्शदाता कम्पनीका संस्थापक रे वाङ यसमा औषधीको विकास र सूक्ष्म प्रविधि समेत पर्ने बताउँछन्। बीबीसी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर