बालेन भन्छन् 'संसद भवन अगाडी प्रेमले चालेको कदम र उनको मृत्युको भयानक संकेत-राज्यको चरम असफलता' • OSNepal

बालेन भन्छन् ‘संसद भवन अगाडी प्रेमले चालेको कदम र उनको मृत्युको भयानक संकेत-राज्यको चरम असफलता’

Osnepal January 25, 2023 0

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । यसैबिच काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको प्रतिक्रिया दिएका छन् । मेयर शाहले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् यो राज्य चरम असफलताको कारण हो ।

फेसबुकमा शाहले लेखेका छन् उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’ सत्तामा रहेकाहरू सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छ । सञ्चारमाध्यमहरूले पनि कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार गर्नुपर्नेमा अमुक व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर समाचार बनाउन व्यस्त रहेको मेयर शाहले आरोप लगाएका छन् ।

यस्तो छ उनले लेखेकाे स्टाटस : एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमा, जनप्रतिनिधिकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधिकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।

एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाउनु अघि फेसबुकमा आफ्नो पिडा, वेदना र ऋणमा डुबेको कसैबाट सहयोय नपाएको निकै लामो स्टाटस लेखेका थिए । उनको लामो स्टाटसमा फ्रस्टेशन, निराशा, राज्यबाट ऋणका लागि पनि सहयोग नपाएको, ऋण दिनेहरुले पनि निकै दुख दिएको जस्ता गुनासोहरुले भरिएको थियो ।

स्टाटस पोस्ट गरेर आचार्य मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाए । जुन भिडियो समेत बाहिरिएको छ । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

तर उनको बुधबार बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनका दुई छोरी र पत्नि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर