घरेलु सीप बजारमा नबिक्दा अमलाचौरका टीका सुदारा चिन्तित • OSNepal

घरेलु सीप बजारमा नबिक्दा अमलाचौरका टीका सुदारा चिन्तित

LC (KTM) January 25, 2023 0

बागलुङ- बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी हुनुहुन्छ । साठी वसन्त पार गरिसक्दा पनि उहाँले दार (राम्रो काठ) का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउनुहुन्छ । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उहाँ माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुग्नुभएको थियो । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उहाँ गाउँ फर्किनुभयो ।

त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउनुहुन्छ । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो ।

“हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सिप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन”, सम्मरबहादुरले भन्नुभयो । पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । प्लास्टिकका सामग्रीको प्रयोग बढे्पछि आफ्नो सीप थला परेको उहाँको भनाइ छ ।

जङ्गलमा खेर गइरहेका काठ र बाँसको चोया आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामाग्रीहरु बनाउँदै आएका कैयौं व्यक्तिहरुको पेशा संकटमा परेको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागु हुन नसकेको स्थानीयको गुनासो छ ।

“काम गर भनेर रकम सहयोग गरेर मात्र हुँदैन, हामीले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरुको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ” तरकारी खेतीसँगै चोयाँका सामाग्री बनाउदै आउनुभएको मालिका गाउँपालिका–५ का सुनबहादुर बूढाले भन्नुभयो । हातमा अन्य काम गर्ने सीप नभएका र उमेर बढी भएका जेष्ठ नागरिक आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन् ।

“आफूले जानेको सीपबाट गुजारा चलेको थियो, तर अहिले सीप पनि हेंला हुन थाल्यो, बुढ्यौली पनि लाग्यो”, भकिम्लीका ६४ वर्षिय तेजबहादुर पुनले भन्नुभयो । पाँच वर्ष अघिसम्म दिनमा २ वटासम्म डोका बुन्ने गर्नुभएका पुन अहिले एक सातामा दुई÷तीनवटा मात्र बुन्नुहुन्छ ।

केही वर्ष अघिसम्म हस्तकलाका सामाग्री बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्तिहरु अहिले आफुले बुनेका सामाग्री सिकुवा वा गोठमा थन्कीएका बताउनुहुन्छ । सीप पुस्तान्तरण भएन भनेर चिन्ता भन्दा अहिलेको अवस्थामा सीप प्रयोगहिन भएकामा चिन्ता छ उहाँहरुलाई ।

“हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु ? सामान नै विक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन, छोरा नातिलाई खाडीतिरै पठाउनुको विकल्प छैन्”, बेनी नगरपालिका–२ का भीमबहादुर विकले भन्नुभयो ।प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र परम्परागत सीपबाट सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसाय संकटमा परेको स्थानीय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर