जनताको आशालाई निराश हुन दिन्न , गरेका वाचा पूरा गर्छु : मन्त्री पाण्डे — OSNepal

जनताको आशालाई निराश हुन दिन्न , गरेका वाचा पूरा गर्छु : मन्त्री पाण्डे

LC (KTM) January 25, 2023 0

चितवन-सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताउनुभएको हो । सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।”

सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।”

आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उहाँले कुनै स्वार्थ नबाझिने बताउनुभयो । सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उहाँले जानकारी दिनुभयो ।

आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा मुद्दा यथावत रहेका छन् । पार्टीको धारणा रोकिंदैन ।” यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाईने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर