दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकलाई सास्ती — OSNepal

दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकलाई सास्ती

LC (KTM) January 25, 2023 0

देउखुरी-दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् ।

समयमा नै काम सम्पन्न गर्ने गरी २०७८ असार १४ मा ठेक्का सम्झौता गरेको महादेव खिम्ती–अन्जना–जलजला जेभी काठमाडाँैले अहिलेसम्म खोलाको दुई किनारमा ‘पाइलिङ फाउण्डेशन’को काम मात्रै गरेको छ ।निर्माणको जिम्मा लिएको कम्पनीलाई स्थानीय प्रतिनिधिले बारम्बार ताकेता गर्दापनि आलटाल गरिरहेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । खोलाको दुई किनारमा नालासहितको सडक बनिसकेको छ तर खोलामा पुल बन्न नसकेको जनाइएको छ ।

सम्झौता पत्र अनुसार कामले निरन्तरता पाएको भए हालसम्म गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बगौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल निर्माण सकिने थियो ।

कटुवा खोलामा पुलको काम पुस १३ गते सम्पन्न गरिसक्ने गरी म्याद थप भएको थियो । मकुन्डाँडा जोड्ने पुल भने २०८० पुस १३ मा सक्ने गरी सम्झौता भएको छ । तर निर्माण व्यवसायीको काम हेर्दा समयमा नै सम्पन्न हुनेमा आशङ्का रहेको कार्यालय प्रमुख मनिषकुमार अर्यालले बताउनुभयो । “सम्झौताको म्याद नाघेको छ, अबको कार्य सम्पादन हेरेर धरौटी जफत गर्नुपर्ने र कारबाही किन नगर्ने भनेर जवाफ पनि मागेका छौँ”, उहाँले भन्नुभयो ।

कटुवा खोलामा रू चार करोड १७ लाख २४ हजार र हापुर खोलामा रू आठ करोड ३६ लाख ८३ हजारमा पल निर्माण सक्ने गरी व्यवसायीसँग सम्झौता भएको थियो । तर डेढवर्षमा २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इञ्जिनीयर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल निर्माण सन्तोषजनक नभएको र समय थप गर्दा पनि समयमा निर्माण सम्पन्न हुने अवस्था नदेखिएपछि निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरु गरिएको छ । कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएपछि निर्माण कम्पनीलाई ताकेता गर्न थालिएको उहाँको भनाइ छ ।

प्रमुख अर्यालका अनुसार जिल्लामा दुई सय साठी आयोजना सञ्चालनमा छन् । जसमा ७० प्रतिशत आयोजनाको बजेट २५ लाख भन्दा कम छ । देउखुरीको राप्ती गाउँपालिका–५ मा रहेको दोलही खोला पुलको काम पनि म्याद थपेर २०७९ साउन १० सम्म सम्पन्न गर्नेगरी व्यवसायीलाई जिम्मा लगाइएपनि काम अलपत्र परेको छ ।

बिजौरीदेखि उत्तर नयाँ गाउँ जोड्ने दोलई खोलामा जयबुद्ध–विराटजेभी काठमाडौँले रू पाँच करोड २० लाख सात हजारमा २०७७ भदौ २१ मा निर्माणको जिम्मा लिएको थियो । दङ्गीशरणको गाउँपालिकाको माया खोला र पातु खोलामा भने पुल निर्माण सुचारु रहेको कार्यालयले जनाएको छ ।

पातुखोलाको २०८० असोज ३० सम्म म्याद थपिएको छ भने माया खोलाको २०८० असार मसान्तसम्म थपिएको छ । जिल्लाभरी प्रदेश आयोजना धेरै भएपनि जनशक्ति अभावका कारण कार्यसम्पादनमा कठिनाई हुने गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । निर्माण कम्पनीले भने कोरोनालगायतका कारण देखाउदै जनशक्ति अभाव भएकाले समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर