रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि एक करोड सहयोग गर्ने — OSNepal

रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि एक करोड सहयोग गर्ने

LC (KTM) January 25, 2023 0

मङ्गलबारे-सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिनुभयो । कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध हुने भएको उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माको पहलमा कार्यक्रम स्वीकृत भएको अध्यक्ष स्याङ्बोको भनाइ छ । गाउँपालिका तराई र भारतसँग सीमा जोडिएकाले यहाँबाट तरकारी निर्यात भइरहेको छ । ढुवानी सस्तो पर्ने भएकाले भारतीय व्यापारीहरु यही आएर खरिद गर्ने गरेका छन् ।

कम लागतमा गुणस्तरीय तरकारी उत्पादन गर्ने गरी काम सुरु गरिने गाउँपालिकाको भनाइ छ । यो क्षेत्रमा तरकारी उत्पादन राम्रो हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारी झापा, मोरङ, सुनसरी हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ ।

नेपालमा रासायनिक मल प्रयोग भएका भारतीय तरकारी आयात भइरहेको र त्यस्ता तरकारीले स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको भन्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले आफूहरुले प्राङ्गारिक मल नै प्रयोग गर्ने बताउनुभयो ।

स्थानीय उत्पादनलाई आयातित तरकारीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी कार्यक्रम सञ्चालन गरिने उहाँको दाबी छ । किसानलाई बिउ र कृषि औजार अनुदानमा उपलब्ध गराइने भएकाले तरकारी उत्पादन भारतको तुलनामा सस्तो पर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर