उद्योगी र व्यवसायीको बैंकसँग गुनासो– प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल — OSNepal

उद्योगी र व्यवसायीको बैंकसँग गुनासो– प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल

LC (KTM) January 27, 2023 0

महोत्तरी, १३ माघ । बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरुले बैंकहरुका कारणले नै व्यापारीहरुलाई आत्मदाहको स्थितिमा पु¥याएको भन्दै चिन्ता व्यक्त गरे ।

धितोको नाममा बैंकले दिने मानसिक तनावले कयौँ युवाहरुले आत्महत्याको बाटो रोज्दै गएको र यसको जिम्मेवार बैंकहरु स्वयंले लिनुपर्ने उनीहरुको भनाइ छ । ७ प्रतिशतमा ब्याजमा लिएको ऋण अहिले १४ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यताले कयौ व्यापारीहरु व्यापारवाट नै पलायन भइरहेका अन्तरक्रियामा सहभागी उद्योगीहरुले गुनासो गरेका छन् ।

साना तथा मझौला व्यापारीहरुलाई बैंकमा विभेदपूर्ण व्यवहार हुने भन्दै व्यापारीहरुले आक्रोश समेत ब्यक्त गरे ।होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले वित्तीय तथा बैंकहरुलाई नाफामुखि बनाउन व्यवसायीहरुकै योगदान भए पनि पछिल्लो समय बनेको वित्तीय नीतिले व्यवसायप्रति नै निरुत्साहित बनाएको बताए । ‘गभर्नरले चढ्ने गाडीदेखि लिने सम्पूर्ण सुविधा हाम्रै करले भएको छ,’ उनले प्रश्न गरे, ‘फेरि हामीप्रति नै अन्याय ?’

अहिलेको अवस्था अन्त्य नगरे आन्दोलन गर्ने उनले चेतावनी पनि दिए । बैंक व्यवसायीहरुप्रति लचिलो नबन्ने हो भने लिलामीका फाइलहरुको चाङ लाग्ने र लिलाम गर्ने मान्छेसमेत नपाउने परिस्थिति सिर्जना हुने भन्दै उनले बैंकहरु उत्पादनमुखी बन्न सुझाव दिए ।बैंकको चर्को व्याज र घरभाडाका कारण बर्दिबासमा मात्र ४६ वटा सटर बन्द भएको बताउँदै व्यवसायीहरुले चिन्ता व्यक्त गरे । बैंकले चोरीको घटना बढ्दै गएकाले वित्तीय नियमानुसार सामाजिक क्षेत्रमा खर्चिनुपर्ने पैसा सिसिटीभी जडानमा खर्चिनुपर्ने संघको माग छ ।उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले व्यवसायीकै कारणले चलिरहेका बैंकहरुले सामजिक विकासका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारी सिसिटिभी जडान गरेर सुरक्षित सहर निर्माण गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर