औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड — OSNepal

औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड

LC (KTM) January 27, 2023 0

राँझा- नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ । महोत्सवका १७ वटा कक्षमा थारुगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताउनुभयो । थारु गाउँमा थारु संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उहाँको भनाइ छ । महोत्सवभित्र राखिएको थारु गाउँका कक्षमा थारु परिकार सजिएका छन् । महोत्सव हेर्न आएका दर्शकको थारु परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ ।

थारु गाउँमा थारु परिकार घोघी, बङ्गुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिङ्गे माछा, गङ्गटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले बताउनुभयो । महोत्सव हेर्न आउने अधिकांश दर्शक थारु गाउँ जाने गरेकाले थारु गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिनुभयो ।

महोत्सवमा थारुको कला संस्कृतिको प्रवद्र्धनका लागि थारु गाउँ सञ्चालन गरिएको उहाँको भनाइ छ । पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो ।

गत मङ्गलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासङ्घका महासचिव जीआर भुसालले बताउनुभयो । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर