जाडोयाम सुरु भएसँगै चन्द्रौटामा फष्टायो सिद्राको व्यापार — OSNepal

जाडोयाम सुरु भएसँगै चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

LC (KTM) January 28, 2023 0

कपिलवस्तु -जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताउनुभयो । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउनुहुन्छ ।

वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उहाँले बताउनुभयो । “अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उहाँ भन्नुहुन्छ । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलनछ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो ।

रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताउनुभयो । जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उहाँले सुनाउनुभयो । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उहाँको विश्वास छ ।

दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाउनुभयो । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताउनुभयो ।

अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउनुहुन्छ । आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उहाँले बताउनुभयो ।

चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताउनुभयो । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउछन ।

माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ । यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो रु दुई सयदेखि पाँच सयमा बिक्री हुन्छ । भारतबाट भन्सार गरी पशु क्वारेन्टाइनको अनुमति लिई सिद्रा बेच्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर