पर्यटकीय नगरी बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड हटाइँदै — OSNepal

पर्यटकीय नगरी बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड हटाइँदै

LC (KTM) January 30, 2023 0

दमौली-तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ । बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ । बन्दीपुरको सुन्दरता कायम गर्नका लागि बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ ।

बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

“सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौँ, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो”, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भन्नुभयो । देश तथा विदेशबाट बन्दीपुर आउने पर्यटकलाई बन्दीपुरको सुन्दरता देखाउने अभियानमा लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाको सो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन् ।

बन्दीपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताउनुभयो ।

गाउँपालिकाले सम्बन्धित होटल व्यवसायीले पसल बाहिर सामग्री राखी बिक्री वितरण गर्न रोक लगाएको छ । सडक र सडक पेटीमा व्यवसायीले गाउँपालिकाले तोकेको मापदण्ड र स्थानमा मात्र सामान राखी बेच्न पाउने निर्णय भएको छ ।

त्यस्तै गाउँपालिकाले तोकेको स्थानीय मापदण्डबमोजिम बढीमा दुई वटा टेबल र प्रतिटेबल तीन वटा कुर्चीसम्म राखी मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्चीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरी प्रयोग गर्ने निर्णय गरेको छ ।

प्रत्येक होटल व्यवसायीले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बन्दीपुर आउने पर्यटकलाई ताजा र सफा खानाको मात्र व्यवस्था गर्न, बजारमा रङरोगनलगायत स्वरुप परिवर्तन गर्न परेमा गाउँपालिकासँग समन्वय गर्न र बन्दीपुर बजार संरक्षित क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चाप बढी हुन्छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने व्यवसायी वसन्त पौडेलले बताउनुभयो ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । अठाऔँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर