अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो — OSNepal

अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो

LC (KTM) January 30, 2023 0

मुम्बई-भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह “दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी” मा संलग्न रहेको आरोप लगाएको थियो ।

ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अडानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अडानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए ।

साठी वर्षीय अडानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए । अडानी समूहले आफूहरुमाथि “दुराशययुक्त” आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू “झूट बाहेक केही नभएको” बताएको छ ।

“यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकाँक्षा विरुद्धको आक्रमण हो,” समूहको वक्तव्यमा भनिएको छ । वक्तव्यपछि सोमबार खुलेको बजारमा अडानी इन्टरप्राइजेजको शेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अडानी आबद्ध कम्पनीहरुको शेयर बिक्री व्यापक बनेको थियो, र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन ।

अडानीले स्टक बिक्री मार्फत २५ अर्ब डलर सङ्कलन गर्ने महत्वाकाँक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अडानी इन्टरप्राइजेजले प्रति शेयर भारतीय रुपैयाँ ३ हजार ११२ को हाराहारीमा बिक्री गर्न खोजको थियो । हिन्डेनबर्गले अडानीको वक्तव्यको जवाफमा भारतको भविष्य अडानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । “अडानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ, र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाईचढाई मात्र गरेको छ ।”

अडानी समूहको मुख्य कम्पनी अडानी इन्टरप्राइजेजको मुम्बई शेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अडानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो । अडानी पावर र अडानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले शेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नु परेको छ । अडानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर