प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट — OSNepal

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

LC (KTM) February 02, 2023 0

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उहाँहरुलाई जानकारी गराउनु भएको थियो ।

भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनुभएको थियो । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर