त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सम्पन्न — OSNepal

त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सम्पन्न

LC (KTM) February 06, 2023 0

भक्तपुर-भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा लागेको एकमहिने माधवनारायण मेला एवं व्रतआईतबार साँझदेखि सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजदेखि सम्पन्न भएको माधवनारायण व्रत व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुले जानकारी दिनुभयो ।

एक महिनासम्म यहाँ माधवनारायणको कथा वाचन गरिएको र आज स्वस्थानी व्रत समापन गरेर मेला सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष चार महिला र १३ पुरुषले माधवनारायणको व्रत बसेका थिए । महिलाका लागि भने यहीँ बस्ने व्यवस्था गरिएको समितिका अध्यक्ष सुजखुले जानकारी दिनुभयो । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएको शिलालेखमा उल्लेख गरिएको छ ।

त्रिवेणीधाममा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने गरेको पुजारी चिरञ्जनराज राजोपाध्यायले बताउनुभयो । आज बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्दै शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गरी व्रत एवं मेला समापन गरिएको उहाँले जानकारी दिनुभयो ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीधाम भन्ने प्रचलन रहेको छ ।

बर्तालुले औँसीदेखि नै खाली खुट्टा पैदल नै तिलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयबागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर