पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन — OSNepal

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

LC (KTM) February 23, 2023 0

चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए ।

कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उहाँहरुले कोरियामा यसको धेरै माग रहेको जानकारी गराउनुभयो ।

कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उहाँहरुको भनाइ छ । कला, शिक्षा तथा कानुन सङ्कायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ ।

विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, यसमा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा सङ्कायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर