वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार — OSNepal

वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

LC (KTM) February 26, 2023 0

कर्णाली-कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो ।

कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्तानिमार्णका लागि प्रदेशका दश वटै जिल्लामा अग्निनियन्त्रक भर्ना गरी खटाइने छ । उनीहरुले ९० दिनसम्म वनमा डढेलो हुनबाट जोगाउन काम गर्नेछन् ।

निर्देशनालयका अनुसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२÷ १२, रुकुम पश्चिममा आठका साथै कालीकोट, हुम्ला, मुगु, र डोल्पामा भने सात÷साता अग्नि नियन्त्रक खटिने छन् । निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, वैशाख तथा जेठमा आगलागीका घटना बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यमा जोड दिइने बताउनुभयो ।

उहाँले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिएर सुरक्षा सामग्रीसहित परिचालन गरिने जानकारी दिनुभयो । चैत, वैशाख र जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षति हुनसक्ने भएकाले न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर