विद्यार्थी बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द — OSNepal

विद्यार्थी बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द

LC (KTM) February 27, 2023 0

मध्यविन्दु-नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उहाँको भनाइ थियो । “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उहाँले भन्नुभयो, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।”

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।
अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताउनुभयो ।

हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उहाँको भनाइ थियो । “यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ” मेसु होदाले भन्नुभयो, “मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ ।”
z

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर