मेचीनगरलाई ‘तोरी जोन’ बनाउन सहकारी अभियान — OSNepal

मेचीनगरलाई ‘तोरी जोन’ बनाउन सहकारी अभियान

LC (KTM) July 09, 2021 0

झापा, २५ असार- कृषिमा उर्वर जिल्लाको मेचीनगरलाई तोरी जोनका रुपमा विकास गर्न स्थानीय सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको उत्पादन, प्रशोधन र खेती प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ । मेचीनगर–१० खयरडाँगीमा सो सहकारीले रु २० लाख ७० हजारको लगानीमा तोरी पेल्ने आधुनिक मेसिन स्थापना गरेको छ । संस्थाले वडा नं १०, १३ र १५ का किसानलाई तोरीखेतीमा लाग्न प्रोत्साहित गर्ने विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ ।

“भूवनोटका आधारमा मेचीनगर तोरीखेतीका लागि अत्यन्तै उर्वर क्षेत्र हो, परम्परागतरुपमा किसानले गर्दै आएको तोरी खेतीलाई आधुनिक र व्यावसायिक बनाउने हाम्रो अभियान छ”, संस्थाका अध्यक्ष शारदा शर्मा भन्नुहुन्छ, “धानखेती र मकै खेतीको बीच अवधिमा जग्गा बाँझो रहन्छन्, यही अवधिमा तोरीखेती हुने गरेको छ ।”

सहकारीले गाउँगाउँमा पुगेर किसानलाई सङ्गठित गर्ने र तोरीखेतीका लागि प्रोत्साहित गर्ने अभियान चलाएको छ । तोरी उचित मूल्यमा संस्थाले नै खरीद गरिदिने भएकाले किसान बिचौलियाको मारमा पर्दैनन् ।गत वर्षदेखि नै संस्थाले किसानको तोरी किनेर प्रशोधन गर्ने र प्रशोधित गुणस्तरीय तोरीको तेल आफ्ना सदस्यलाई बिक्री वितरण गर्दै आएको छ । यसपाली कचनकबल र मेचीनगरका किसानको ३० क्विन्टल तोरी सहकारीले खरीद गरेको छ ।

नगरपालिका र कृषि ज्ञान केन्द्रसँग मिलेर संस्थाले किसानलाई तोरी उत्पादनसम्बन्धी तालीम प्रदान गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा तोरी उत्पादन प्रविधि तालीम, कृषकसँगको सम्झौता, पाँच बिघा जग्गा भाडा, अनुगमन तथा अवलोकनमा रु तीन लाख २० हजार ३०० खर्च गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

मेचीनगरको वडा नं १० मा तोरी पेल्ने मिल स्थापना गरेको संस्थाले उत्पादित तेललाई प्याकेजिङ तथा बोटलिङ गरी बजारमा समेत लैजाने भएको छ । तोरी पेल्ने मेसिन, बाली गोड्ने मेसिन, जेनेरेटर तथा पम्पिङ सेट मेसिन, डिप बोरिङ र मिनी टिलर गरी रु २० लाख ७० हजारको मेसिन गरी उपकरण खरीद गरिएको संस्थाले जनाएको छ ।

संस्थाको कार्यक्रम जनमुखी र प्रभावकारी भएको हुँदा नगरपालिकाले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो संस्थालाई रु १४ लाख सःशर्त अनुदान दिएको छ । त्यसमा संस्थाले रु नौ लाख ९० हजार ३०० लागत सहभागिता थपेको जनाएको छ । व्यवसाय प्रवद्र्धन कार्यक्रमबाट स्थानीयरुपमा तोरी उत्पादन, प्रत्यक्ष रोजगारीको सिर्जना, आत्मनिर्भर लघु उद्यमशीलताको विकास र गरीबी न्यूनीकरणमा योगदान पुगेको वडा नं १० का वडाध्यक्ष सुदय पनेरुले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर