सप्तरीमा अज्ञात रोगले एक जनाको मृ त्यु, २५ जना बिरामी परेपछि गाँउभरि त्रास फैलियो — OSNepal

सप्तरीमा अज्ञात रोगले एक जनाको मृ त्यु, २५ जना बिरामी परेपछि गाँउभरि त्रास फैलियो

LC (KTM) July 10, 2021 0

सप्तरी-अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेको खबरपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गर्नुभएको छ । प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको छ ।

टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीया सीतादेवी रजकको बिहीबार राति मृ त्यु भएको थियो । बिहीबार साँझ साढे ७ बजे सो समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी रजकको राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अपच भई पखाला लागेको हुन सक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृ त्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताउनुभयो । अस्पतालमा भर्ना भएकी रजककै परिवारका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ बिरामी छन् । टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय जयनारायण यादवले बताउनुभयो । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका आठ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ । स्थानीयवासीका अनुसार अस्पताल नगएका बिरामीको स्थानीय मेडिकल क्लिनिक र घरमै स्लाइन पानी लगाई उपचार भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर