अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल — OSNepal

अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल

LC (KTM) March 12, 2023 0

बागमती- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी स¬ङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उहाँले विगतमा गरिएको लगानीले जनजीवनमा प्रभाव नपारेको भन्दै यसपटक समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर लगानी गर्ने बताउनुभयो ।

प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक काम गर्नका लागि ठूला आयोजनामा लगानी गरी जनतालाई महसुस हुने गरी विकास गर्ने योजना रहेको उहाँको भनाइ छ । कर्मचारी सङ्गठनले विषय र योजना बनाउँदा करार र अस्थायी कर्मचारीको पनि हकहितको विषय समेट्न उहाँले आग्रह गर्नुभयो । तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

कर्मचारीका समस्या समाधानका लागि र कर्मचारीलाई सेवाग्रहीप्रति थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयमा सुझाव दिनसमेत उहाँले कर्मचारीलाई नै आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावललगायतले मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर