चैते नवरात्र सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड — OSNepal

चैते नवरात्र सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड

LC (KTM) March 23, 2023 0

बैतडी-चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो । यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नवरात्र सुरु भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको भीड बढ्दै गएको छ । यो क्रम चैते दसैँसम्म रहन्छ ।”

चैते नवरात्रमा यहाँका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, पोटलाशैनीलगायत भगवतीका मन्दिरमा पूजाआजा सुरु भएको छ । निङ्गलाशैनी र मेलौली मन्दिरमा चैते दसैँको दिन बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । दोगडाकेदार, सिगास, महारुद्र, शिवनाथ, वासुलिङ्ग, उदयदेव, जगन्नाथ, भूमिराजलगायतका मन्दिरमा पनि चैते नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ ।

यसैबीच यहाँको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको छ । चैते दसैँको घटस्थापनाको अवसर पारेर ‘हिङ्लो’ ठड्याइएको हो ।हिङ्लो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको छ । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको हो ।पिङ अर्थात ‘हिङ्लो’ मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर