सर्वोच्च अदालतको फैसलालाई लिएर सभापति देउवाले दिए यस्तो प्रतिकृया — OSNepal

सर्वोच्च अदालतको फैसलालाई लिएर सभापति देउवाले दिए यस्तो प्रतिकृया

LC (KTM) July 12, 2021 0

काठमाडौँ, २८ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताउनुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनीतिक दल, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर