कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई वनमन्त्रीको निर्देशन — OSNepal

कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई वनमन्त्रीको निर्देशन

LC (KTM) May 14, 2021 0

काठमाडौँ, ३१ वैशाख : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौँला ।”

मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकको मृत्युपश्चात जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो सङ्ख्यामा शवहरु आइरहेकाले जलाउनका लागि दाउराको कमी हुन नदिन उहाँले निर्देशन दिनुभयो ।

सबै कर्मचारीले आफ्नो क्षेत्रबाट एक ढिक्का भएर नागरिकलाई सेवा दिन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विकासका काम गर्न मन्त्री आलेले निर्देशन दिनुभयो । निर्देशनकै क्रममा मन्त्री आलेले महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन आग्रह गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर