दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगे — OSNepal

दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगे

LC (KTM) April 18, 2023 0

कर्णाली- कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय ११ सामुदायिक विद्यालय तथा निजी विद्यालयमासमेत पाठ्यपुस्तक पठाइएको छ । यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो विद्यार्थीले गर्ने गरेका थिए ।

यसवर्ष शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीले पाठ्यपुस्तक पाएका शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका निमित्त प्रमुख रतनबहादुर विष्टले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले असोजमा मात्र पाएका थिए, यसवर्ष समयमै पाठ्यपुस्तक विद्यालयमा पुगेका छन्’, उहाँले भन्नुभयो ।

हाल कक्षा १ देखि पाँचसम्मका पाठ्यपुस्तक सम्पूर्ण विद्यालयमा ढुवानी भइरहेको छ । अन्य कक्षाका पाठ्यपुस्तक पनि केही दिनमा ढुवानी गरिने विष्टले बताउनुभयो । विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएपछि पठनपाठनमा सहज हुने भएको छ । पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गर्ने र विद्यालयले आवश्यक पुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्ने गरेका छन् ।

अल्फा पुस्तक पसलका किश्वर खत्रीले दैनिक पुस्तक विद्यालयमा ढुवानी हुन थालेको बताउनुभयो । यस्तै देउती पुस्तक पसलका हस्त शाहीले पुस्तक समयमै आउँदा विद्यार्थी र अभिभावकले खुसी व्यक्त गर्ने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर