मानदेवकालीन कान्तिभैरव जात्रा मध्यरातमा सुरु — OSNepal

मानदेवकालीन कान्तिभैरव जात्रा मध्यरातमा सुरु

LC (KTM) April 20, 2023 0

काठमाडौँ, ७ वैशाख-लिच्छविकालका राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ ।वैशाख कृष्ण चतुर्दशीका दिन बुधबार स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवका जात्रा हुन्छ ।

वैशाखकृष्ण आमावास्याका दिन आज गोकर्णेश्वर नगर क्षेत्रका डबलीमा आमाछोरी र सासुबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दुर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दुर जात्रा पनि भन्ने गरिएको छ ।
यस दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने भएकाले कान्तिभैरव जात्रालाई आमाप्रतिको सम्मानकारुपमा लिने गरिएको स्थानीयवासी राधाकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।

प्राचीनकालदेखिको जात्रा विधि

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीन वटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहकासाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बुधबार बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तीगणेशमा लगेर राखेपछि दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाई पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिँगारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाएर हर्षबढाइ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोल टोलमा घुमाइन्छ । यस वर्ष टोलटोलमा जात्रा घुमाउने तालिका वडा कार्यालयले नै सार्वजनिक गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत राससलाई जानकारी दिनुहुन्छ ।

भातको देवता अर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन् । पाक्ता पाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीयवासी रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछ । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायत काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आएका सेनेन्द्र सुवेदीको भनाइ छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागी बीचमा तँछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।

आमाको मुख हेर्न आए भैरव
आमाको मुख हेर्ने दिन आज कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पु¥याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक विश्वास यस क्षेत्रका मानिसमा रहेको यस जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर तहका लागि शोध गर्नुभएका वटुराम भण्डारी बताउनुहुन्छ । रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दुर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उहाँ उल्लेख गर्नुहुन्छ ।

रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायत स्थानमा पनि बलिसहित पूजा गरिन्छ । सिन्दुरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिँगारेर राखिएको हुन्छ । श्रीभैरव, श्रीगणेश र श्रीकुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । तीनै देवीदेवताका रथलाई पुनःसिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ ।

औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछिमात्रै रथ उठाइन्छ । गोकर्णेश्वर नगरपालिका–४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँच वटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरेर बलि चढाइन्छ ।

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक दस गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि पाँचदिने जात्रा सम्पन्न हुन्छ ।

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रशस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्दै आएका छन् । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ ।

कान्तिपुर नामाकरण भएको जात्रा
यही जात्राको नामबाट कान्तिपुर नगरको नामाकरण गरिएको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराबारे उल्लेख गर्नुभएको शोधकर्ता भण्डारी जानकारी दिनुहुन्छ । सो पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामाकरण भएको विषय पनि उल्लेख गरिएको छ ।

वैशाख कृष्ण चतुर्दशीको मध्यरातिदेखि सुरु हुने जात्रामा स्थानीयवासीको ब्यापक सहभागिता हुन्छ । मध्यरातमा जात्रा हुने भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीयवासी बताउँछन् । कान्तिभैरव जात्रा हेर्न राजधानीलगायत वरपर जिल्लावासी पनि आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर