मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो — OSNepal

मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो

LC (KTM) May 18, 2023 0

म्याग्दी- मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको थियो ।

उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।

दुई तले घर बराबरको उचाइ भएको थाङ्का तिजी पर्वमा मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दशवटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।

तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिङजिङ गुरुङले बताउनुभयो । “दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आए”, उहाँले भन्नुभयो, “तिजी पर्व संस्कृति र परम्परामात्र नभएर पर्यटक भ्यियाउने माध्यम पनि बनेको छ ।”

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाइएको बताउनुभयो । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन जमिनका देवी–देवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र राक्षसलाई लखेटेको अभिनय लामाहरूले नृत्यमार्फत देखाएर पर्वको समापन गरिएको छ ।”

तिजीमा लामाहरूले देखाइने नृत्य विशेष आकर्षण हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले तिजी पर्व अवलोकनका लागि आएका स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका बताउनुभयो । माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर