संसद्मा कडाइका साथ प्रस्तुत हुन सांसदलाई अध्यक्ष ओलीको निर्देशन — OSNepal

संसद्मा कडाइका साथ प्रस्तुत हुन सांसदलाई अध्यक्ष ओलीको निर्देशन

LC (KTM) May 21, 2023 0

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले आइतबारदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिनुभएको हो ।

“एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ, । संसद्मा जति समय पाउनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।”

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्बाट पारित गर्न नदिने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताउनुभयो ।

“नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना रहेको छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो”, उहाँले भन्नुभयो, “यसले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।” नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सिद्धान्त र नीतिसँग नमिल्ने गरी नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा राखिएका कुरा बजेटमा आउनुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर