पोखरा महानगरद्धारा कृषकलाई अनुदानमा माहुरीका घार वितरण — OSNepal

पोखरा महानगरद्धारा कृषकलाई अनुदानमा माहुरीका घार वितरण

LC (KTM) May 30, 2023 0

पोखरा -कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो । पोखरा–१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रुपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा माहुरीका घार वितरण गर्न लागिएको कृषि महाशाखाप्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कृषकलाई करिब रु एक करोड बराबरको माहुरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उहाँले बताउनुभयो ।

यसैबीच, पोखरा–२० को कार्यालयले ६४ किसानलाई माहुरीको घार वितरण गरेको छ । पोखरा–२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गङ्गाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानलाई माहुरीको घार वितरण गर्नुभएको हो ।
वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने विश्वास व्यक्त गर्नुभयो ।

कृषि महाशाखाप्रमुख कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने बताउनुभयो । पोखराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित माहुरी घार वितरणमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर