गोरु नभएपछि खोटाङका राईले आफैँले हलो तानेर मकै छरे — OSNepal

गोरु नभएपछि खोटाङका राईले आफैँले हलो तानेर मकै छरे

LC (KTM) June 04, 2023 0

खोटाङ, २१ जेठ ।    गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए । तर, चलनसिंको गोरु २२ वैसाखमा छिमेकी सुवास राईको बारी जोत्नेक्रममा मरेपछि उनले बाँझो मारिसकेको बारीमा आफैँले हलो तानेर मकै छरेका हुन् । उनले कान्छो भाइ लिसेन राईसँग आलोपालो गर्दै हलो तानेर मकै छरेको भिडियो ३ जेठमा सोही ठाउँका गिरीराज राईले सामाजिक सञ्जालमा राखेका छन् । 

 

 यस्तै,  ४ जेठमा बहर गोरु र १२  जेठमा  जोत्दै गरेको गोरु मरेपछि दुर्छिम गणेशटारका नविन राईले छिमेकीको गोरु मागेर मकै छरे । शरीरको विभिन्न भागमा गाँठागुठी देखिने, गाँठागुठी पाक्ने र पानी बग्ने, आँशु आउने लगायतका लम्पी स्किनसँग मिल्दोजुल्दो रोगको प्रकोपका कारण गणेशटारमा हालसम्म पाँचवटा गाईगोरु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण रातमाटेमा मात्रै करिब १०र१२ वटा गाईगोरु मरिसकेको स्थानीय राजन राई बताउँछन् । खेतबारी जोत्ने गोरु मरेपछि कतिपय किसानले कोदालोले खनेर मकै छरेका छन् । ‘कसैका गोरु मरे । कसैको बिरामी भएपछि आफैले हलो तानेर मकै छर्नुपरेको हो । कसैले खनेर मकै छरे, ’ राईले भने, ‘कुनै गाईगोरु तंग्रिदैछ । शरीरभरी खटिरैखटिरा छ । यस्तो बेला पावर ट्रिलर उपयोगी हुनेरहेछ ।’  

 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पनि लम्पी स्किन रोगले करिब १०–१५ वटा गाईगोरु मरिसकेको छ । हस्तबहादुर कार्की र ताराबहादुर खत्रीको जेठ १२ गते गोरु मरेको वडाध्यक्ष अनिश कार्की बताउँछन् । त्यसअघि रणबहादुर श्रेष्ठ, कृष्णबहादुर कार्की, विदुर कार्की, कुम्भनारायण श्रेष्ठ, मोतिलाल श्रेष्ठ लगायतका किसानको गाईगोरु मरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा पनि पाँच वटा गाईगोरु मरिसकेका छन् । जोत्दै गरेको गोरु जेठ १३ गते मरेपछि बिजयखर्ककी उर्मिला दर्जी समस्यामा परेकी छन् । बिजयखर्कमा खड्गबहादुर कट्वाल, बेदकुमार कट्वाल लगायतको गाईगोरु मरेको हो ।

 

 गत माघ यता खोटाङका १० स्थानीय तहमध्ये सबै पालिकामा गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने महामारी फैलिएको हो । त्यसमध्ये जन्तेढुंगा गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये पाँच वडामा ३० वटा गाईगोरु मरिसकेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा। सुशन ढकालले बताए । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा सात वटा, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा १२ वटा, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा पाँच वटा, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा चार वटा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा दुई वटा मरेको छ । गाईगोरु मर्ने क्रम जारी छ । 

 

अन्य स्थानीय तहमा गाईगोरु बिरामी भए पनि मरिहालेको रेकर्ड छैन । ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिने रोगबाट हजारौं गाईगोरु बिरामी परेका छन् । प्रायः सवैजसो गोठका गाईगोरुलाई नयाँ रोगले सताएपछि किसान चिन्तित छन् । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन पत्ता नलागेका कारण उपचारमा कठिन भइरहेको पशु स्वास्थ्य प्राविधिक बताउँछन् । हाल लम्पी स्किनको लक्षण अनुसार औषधि र खोपमार्फत पशुचौपायको उपचार भइरहेको छ । कतिपय किसानलाई लम्पी स्किन सार्ने झिंगा, लामखुट्टे र किर्ना मार्ने विषादि वितरण गरिएको छ । उपचारका क्रममा बिरामी गाईगोरु निको भइरहेको तर नयाँ संक्रमित पनि थपिने दर बराबर भइरहेका रोग नियन्त्रण कठिन भइरहेको छ । 

 

गाईवस्तुलाई लम्पी स्किनले थला पारेपछि स्थानीय तहले लक्षण अनुसारको उपचार गर्न, शरीरको गाँठागुठीलाई फिटकिरी र मन तातो पानीले सफा गर्न, तितेपाती र बेसारको पेष्ट बनाएर घाउमा लगाउन र आवश्यक परामर्शका लागि पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । विज्ञाका अनुशार लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट गाईभैंसीमा लम्पी स्किन सर्ने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर