श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माण गर्न महायज्ञबाट जुट्यो रु ३५ लाख सहयोग — OSNepal

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माण गर्न महायज्ञबाट जुट्यो रु ३५ लाख सहयोग

LC (KTM) June 04, 2023 0

काठमाडौँ -काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि रु ३५ लाख सहयोग जुटेको छ ।मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको थियो । महायज्ञबाट रु ३५ लाख सहयोग जुटेको श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले राससलाई जानकारी दिनुभयो ।

महायज्ञमा श्री १००८ डा चक्रपाणि आचार्य स्वामीजीले कथा वाचन गर्नुभएको थियो । महायज्ञमा जनार्दन घिमिरेले मूल पाठपारायण गर्नुभएको मूल आयोजक समितिको अध्यक्षसमेत रहनुभएका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिनुभयो ।

विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो । काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ ।

मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष अधिकारीले बताउनुभयो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै रु पाँच करोड बजेट लाग्ने उहाँले सुनाउनुभयो । बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ । अनुष्ठानबाट रु ३५ लाख सहयोग जुटेपछि बाँकी रकम कसरी जुटाउने भन्ने विषयमा छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर