शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै काठमाडौँ महानगरपालिका — OSNepal

शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै काठमाडौँ महानगरपालिका

LC (KTM) June 09, 2023 0

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । कामपाले गत वर्ष एसईई नतिजा सुधार गर्न भन्दै अनिवार्य पाँच विषयका लागि दुई महिनाको लागि शिक्षण सहजकर्ता नियुक्त गरेको थियो ।

यस वर्ष भने अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरी शैली परिवर्तन गरेर मात्रै उक्त कार्यक्रमलाई निरन्तरता दिने कामपा शिक्षा विभागका प्रमुख सिताराम कोईरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई महिना थोरै भयो यसलाई बढाउनुपर्छ सोहीअनुसार तयारी भईरहेको छ ।”

यस वर्ष कामपाले सम्बन्धित विद्यालयका शिक्षकलाई नै जिम्मेवार बनाएर अघि बढ्ने प्रमुख कोईरालाले तयारी भएको जानकारी दिनुभयो । गत वर्ष उक्त कार्यक्रमको लागि बाहीरबाट दुई महिनाको लागि शिक्षक ल्याइएको थियो ।

आफ्ना विद्यार्थी कुन अवस्थाका छन् र तीनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे कार्यरत शिक्षकलाई नै थाहा हुने भएकाले विद्यालयका विषयगत शिक्षकलाई नै जिम्मेवार बनाएर कार्यक्रमलाई निरन्तरता दिने तयारी कामपाको रहेको छ ।

कामपाले गत वर्षको एसईईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गरेको थियो ।

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड बनाईएको थियो ।

अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना सहजकर्ता नियुक्त गरेको हो । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

केही सामुदायिक विद्यालयको एसईई नतिजा राम्रो नरहेको भन्दै कामपाले उक्त कार्यक्रम ल्याएको हो । गत वर्ष मागभन्दा कम सहजकर्ता र सहयोगी गरी ४३ जना मात्र नियुक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर