‘हृदयचन्द्र स्मृति सम्मान’ मोहनविक्रम र ‘व्यथित साहित्य सम्मान’ अभि सुवेदीलाई प्रदान — OSNepal

‘हृदयचन्द्र स्मृति सम्मान’ मोहनविक्रम र ‘व्यथित साहित्य सम्मान’ अभि सुवेदीलाई प्रदान

LC (KTM) June 09, 2023 0

काठमाडौँ – साहित्य सदन, नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’बाट प्रगतिवादी साहित्यकार तथा सौन्दर्यचिन्तक मोहनविक्रम सिंहलाई सम्मान गरेको छ ।रु २५ हजार नगदसहित सम्मानपत्रले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइँलाले उहाँलाई सम्मान गर्नुभएको हो । यसैगरी ‘व्यथित साहित्य सम्मान’बाट नाटककार, समालोचक तथा कवि अभि सुवेदीलाई सम्मानित गरिएको छ । पुरस्कारको राशि रु २० हजार नगद र सम्मानपत्र रहेको साहित्य सदनका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।

नेपाली साहित्यमा सिंह समाजवादी यथार्थवादी धाराका सशक्त स्रष्टाका रूपमा स्थापित हुनुहुन्छ । साहित्य लेखन यात्रामा झन्डै सात दशक बिताइसक्नुभएका ८८ वर्षीय सिंहका सिर्जना र समालोचना गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् । अनुुवादका क्षेत्रमा पनि उहाँले कलम चलाउनुभएको छ । राणाविरोधी सङ्घर्षदेखि निरन्तर राजनीतिक सङ्घर्षमा होमिनुभएका सिंह राजनीति, राजनीतिक अर्थशास्त्र र समाजशास्त्र सम्बद्ध थुप्रै कृतिका लेखक तथा साम्यवादी आस्थाका अविचल नेतासमेत हुनुहुन्छ ।

सुवेदी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, नाटककार, अनुवादक तथा कवि हुनुहुन्छ । छ दशकको साहित्य यात्रा पार गर्नुभएका उहाँको स्रष्टा व्यक्तित्व, नाटककार, कवि र निबन्धकारमा विस्तारित छ । द्रष्टा व्यक्तित्व, समालोचक र साहित्यिक चिन्तकका रूपमा उहाँ स्थापित हुनुहुन्छ । उहाँका करिब दुई दर्जन साहित्यिक कृति प्रकाशित छन् । सुवेदी राजनीतिबाट पर बस्न रुचाउने उन्मुक्त चरित्रका साहित्यकार हुनुहुन्छ ।

कार्यक्रममा साहित्यका रामप्रसाद ज्ञवालीले हृदयचन्द्र सिंह प्रधान र केदारमान व्यथितको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो । जनमत साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवालले सम्मानित व्यक्तित्व सिंह र सुवेदी नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

साहित्य सदन नेपालले एक दशकअघिदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट एक दर्जनभन्दा बढी साहित्यकार सम्मानित भइसक्नुभएको छ । कार्यक्रममा साहित्य सदनका कार्यवाहक अध्यक्ष हेमनाथ पौडेलले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर