मस्र्याङ्दी नदीमा आएको बाढीले चामेको झोलुङ्गे पुल बगायो — OSNepal

मस्र्याङ्दी नदीमा आएको बाढीले चामेको झोलुङ्गे पुल बगायो

LC (KTM) July 21, 2021 0

मनाङ, ६ साउन- मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ ।जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ् पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।

माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उहाँले भन्नुभयो, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”

बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पु¥याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उहाँले भन्नुभयो ।

चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढीपहिराले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर