नेपाल पुलिसलाई महिला लिग फुटबलको उपाधि



photo : Keshab  Bhattarai/npnews.net
photo : Keshab Bhattarai/npnews.net
winner2
बिजेता टिमको साथमा एसएसपी रमेश खरेल । फोटो : केशव भट्टराई / एनपी न्यूज डटनेट

एनपी न्यूज डटनेट, चितवन, ८ असोज । चितवनको नारायणगढमा भएको महिला लिग राष्ट्रिय फुटबलको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । बुधबार भएको उपाधि भिडन्तमा आर्मीलाई ट्राई ब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले नगद २ लाख पुरस्कार प्राप्त ग¥यो भने आर्मीले उपबिजेतामा चित्त बुझाउँदै नगद १ लाख पुरस्कार प्राप्त गरेको छ ।
नेपाल आर्मीको टिमलाई उत्साह बढाउन उपरथिहरु भेक्टरशमशेर जवरा र राजेन्द्रविक्रम शाह क्याम्पाचौर आइपुगेका थिए । तालिम केन्द्र भरतपुरका प्रमुख एसएसपी रमेश खरेल पनि उपस्थित थिए ।
निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमबाट गोल नभएपछि खेल अतिरिक्त ३० मिनेट समय थपिएको छ । अतिरिक्त समयमा दुबै टिमबाट एक–एक गोल भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको हो । ट्राईब्रेकरमा आर्मीकी अन्चली वाईबाले प्रहार गरेको पहिलो बल पोष्टमा लागेर फर्किएपछि यस वर्षको उपाधि पनि पुलिसले जित्न सफल भयो । अतिरिक्त समयमा आर्मीले अग्रता लिएको थियो । अतिरिक्त समयको १९ औं मिनेटमा आर्मीकी सर्मिला थापाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको ४ मिनेटलगत्तै पुलिसकी निरु थापाले बराबरी गोल फर्काएकी हुन् ।
अतिरिक्त समयमा एक–एकको बराबरीमा सकिएपछि ट्राईब्रेकरमा पुलिसले ५–३ ले जित गर्दै दोस्रो पटक उपाधि हात पारेको हो । पुलिसले पेनाल्टीको पाँचवटा अवसर सदुपयोग गरेको थियो । आर्मीले एक गोल मिस गरेको थियो । यस अघि इलाममा भएको प्रतियोगितामा पनि आर्मी पुुलिससँग नै पराजित भएको थियो । विजेता र उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै, खेलको उत्कृष्ट गोलपिकर आर्मीकी लीला लाम्गाडे, उत्कृष्ट डिफेन्स पुलिसकी घिमकुमारी गुरूङ, उत्कृष्ट फरवार्ड पुलिसकी निरू थापा, उत्कृष्ट मिडफिल्डर सशस्त्रकी अनिता बस्नेत र उत्कृष्ट प्रशिक्षक नेपाल पुलिसका सन्देश श्रेष्ठ भएका थिए । उनीहरुले जनही २५÷२५ हजार नगद पाएका छन् ।
गत भदौ ३० गतेबाट सुरू भएको खेलमा पाँच विकास क्षेत्रका एकएक टिम र तीन विभागीय टिम सहभागी भएका थिए ।

Comment