काठमाडौंमा यस्तो तेश्रो लहरको सङ्केत, सङ्क्रमण भै बालबालिकाहरु अस्पतालमा भर्ना हुन् थाले ! — OSNepal

काठमाडौंमा यस्तो तेश्रो लहरको सङ्केत, सङ्क्रमण भै बालबालिकाहरु अस्पतालमा भर्ना हुन् थाले !

LC (KTM) July 22, 2021 0

राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ । तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ ।

कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिए ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो ।

संक्रमणको दर बढेपछि थप योजना तयार गर्न थालेको जानकारी गराउँदै कुँवरले भने– ‘काठमाडौंमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सबै तयारी थालेका छौ ।’ महानगरले लक्षण देखिएको वडा र क्षेत्रमा पुगेर तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर