ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि भारत जानुपर्ने झन्झट हट्यो — OSNepal

ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि भारत जानुपर्ने झन्झट हट्यो

LC (KTM) July 22, 2021 0

कञ्चनपुर, ७ साउन- भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ ।

गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।

“गाउँमा बर्थिङ सेन्टर नहँुदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल र मोटरसाइकलमा बोकेर भारतीय निकटवर्ती टनकपुरस्थित अस्पतालमा पु¥याउँदै आएका थिए”, स्थानीयवासी अनिता बुढाले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीको खप्की खानुपर्ने अर्को बाध्यता थियो । अस्पतालमा चर्को शुःल्कसमेत लिइने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल पु¥याउन ढिला हुँदा ज्यान जाने जोखिमसमेत थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै ती सबै समस्या हटेर गएको उहाँले बताउनुभयो ।

नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरबाट खल्लामछेट्टी, टुँडिखेल, सन्तनगर, ब्रम्हदेव, तिलकेनीसहितका बासिन्दाले सहज रुपमा सेवा पाउने जानकारी दिनुभयो । “सीमावर्ती क्षेत्रका बासिन्दाले विगतमा भारतका अस्पतालमा सेवा लिनका लागि जानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “अब भारतीय छिमेकी शहर टनकपुरका बासिन्दाले समेत बर्थिङ सेन्टरबाट लाभ लिन सक्छन् ।” बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको छ । शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन गरी नगरपालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर