दमौली, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिका निर्माण गरिएको विपी कोइरालाको सालिक अनावरण गर्नुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले विपी कोइरालाको सालिक अनावरण गर्नुभएको हो ।
नेपाली कांग्रेस व्यास नगर समितिले दमौली सभागृहको आडैमा निर्माण गरेको विपी कोइरालाको पार्कको उद्घाटनसँगै कोइरालाको अर्धकदको सालिकको पौडेलले अनावरण गर्नुभएको हो ।
विसं २०३६ मा दमौली आउँदा विपी कोइरालाले पहिलोपटक सम्बोधन गरेको ठाउँमा कांग्रेसले विपी पार्क निर्माण गरेको हो । उक्त पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु १० लाख सहयोग गरेको थियो ।