सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी, दुई करोड लागतमा सिँचाइ योजना निर्माण • OSNepal

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी, दुई करोड लागतमा सिँचाइ योजना निर्माण

LC (KTM) October 03, 2023 0

गुल्मी, १६ असोज: गुल्मीे मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, रु दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना ।सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका छन् ।

सिँचाइका कारण किसानले समयअनुसारका अन्नवाली उत्पादन गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको सहयोगमा मालिका गाउँपालिका–६ अन्तर्गत भैसेरुम्टामा सिँंचाइ योजना निर्माण भएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको हो ।

स्थानीयको लामो समयको प्रयासपछि गत तीन वर्षअघि शुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो । सिँचाइ योजना निर्माणको जिम्मा पाएको अञ्जना श्रेष्ठ जेभी र जल उपभोक्ता समितिको सहयोगमा निर्धारित समयमै निर्माण सम्पन्न गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय अर्जै खोलावाट पानीको स्रोत व्यवस्थापन गरी निर्माण गरिएको उक्त सिँचाइ नहरको कुल लम्बाई तीन हजार छ सय ५० मिटर छ । गाउँको फाँटमा सिँचाइ पुगेपछि त्यस क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको र ६५ घरधुरी प्रत्यक्ष लाभान्वित बनेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

पानीको अभावमा खेत बाँझै राखेर बस्न विवश त्यस क्षेत्रका किसानलाई सिँचाइ योजनाले ठूलो राहत पुगेको स्थानीय भैसेरुम्टा सिँंचाइ योजनाका अध्यक्ष देविराम गौतमले बताउनुभयो । “सिँचाइको अभावमा खेत बाँझै राखेर बजारवाट चामल किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले तिनै बाँझा खेतमा सिँचाइ पुगेपछि लहलह धान झुल्न थालेका छन, अब त बजारबाट चामल बेसाउनु पनि पर्दैन”, स्थानीय देवीराम गौतमले भन्नुभयो ।

योजनाको दिगो व्यवस्थापन गर्न ठूलो चुनौती रहेको भन्दै सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले स्थानीय समुदाय र उपभोक्ताले नै त्यसको संरक्षण र सम्वद्र्धनमा ध्यान दिनसकेमा योजना दिगोरुपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर