कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वन्यायाधीशको संयोजकत्वमा शुक्लाफाँटा आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न लागेको बताउनुभएको छ ।
शनिवार शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी हुने क्रममा आउनुभएका मन्त्री साउदले आरक्ष विस्थापित परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै वर्षौँदेखिको समस्या साधान गर्नका लागि एक हप्ताभित्रै अर्धन्यायिक आयोग गठन हुने जानकारी दिनुभयो । “पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको संयोजकत्वमा गठन भएको आयोगले अघि सारेका विषयलाई आधार बनाएर आयोगले काम गर्नेछ” उहाँले भन्नुभयो ।
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा बनेको आयोगले एक हजार चार सय ८० जनालाई पुनःस्थापना गराउन सिफारिस गरेको थियो । आरक्ष विस्थापितलाई पुनःस्थापना गराउन विभिन्न समयमा गठन भएका आयोगका अभिलेखमा विस्थापितको सङ्ख्या दुई हजार चार सय ७३ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तीन ठाउँमा बस्दै आएका विस्थापित परिवारको सङ्ख्या सात सय ७२ रहेको छ ।