गोरखाको चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी — OSNepal

गोरखाको चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी

LC (KTM) May 02, 2024 0

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामै पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८ औँ मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको आज सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो ।

सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडौँमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाइ छ । “सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित ¥याली निकाल्ने कार्यक्रम पनि रहेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।”

यस वर्षदेखि नियमितरुपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उहाँको भनाइ छ । यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने शृङ्खलाको सुरुआत हुनु गोरखाका लागि महत्वपूर्ण हुने बताउनुभयो । “मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसलाई थप प्रवद्र्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।”मनाास्लु हिमाल आरोहणका लागि जापानसहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिकलगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमशृङ्खला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर